Friday, May 1, 2020

‘उनी गए... ऋषि कपुर... गए... अहिले भर्खर बिते... म विक्षिप्त भएको छु ।’ अमिताभ बच्चनले बिहीबार बिहान यो ट्वीट गर्दै सर्वकालीन प्रिय अभिनेता ऋषि कपूर (67) को महाप्रस्थानको पुष्टि गरे । अमिताभ मात्र होइन, जोकोही विक्षिप्त हुने खबर थियो यो ।!!!!!!!

कपुर खान्दानका ऋषिलाई फिल्ममा डेब्यु हुन सहज भयो तर त्यसपछि उनले जति प्रतिष्ठा कमाए, त्यसमा अभिनय क्षमताबाहेक अरूको भूमिका छैन ।
‘उनी गए... ऋषि कपुर... गए... अहिले भर्खर बिते... म विक्षिप्त भएको छु ।’ अमिताभ बच्चनले बिहीबार बिहान यो ट्वीट गर्दै सर्वकालीन प्रिय अभिनेता ऋषि कपूर (67) को महाप्रस्थानको पुष्टि गरे । अमिताभ मात्र होइन, जोकोही विक्षिप्त हुने खबर थियो यो ।!!!!!!!

 अभिनेता ऋषि कपुर अढाई वर्षदेखि बोनम्यारो क्यान्सरसँग लड्दै थिए । स्वास्थ्यमा एक्कासि समस्या आएपछि उनलाई बुधबार मुम्बईस्थित सर एचएन अस्पताल रिलायन्स अस्पताल भर्ना गरिएको थियो । डेढ सय फिल्मको जीवन्त अभिनयमार्फत संसारभर प्रशंसक कमाएका ऋषि अस्पतालबाट फर्किएनन् ।
बुधबार मात्र बलिउडले प्रतिभाशाली अभिनेता इरफान खान गुमाएको थियो । ऋषिको देहान्तले त्यो घाउ अझ चर्काइदियो ।
लभरब्वाई, नकारात्मक, खलनायक, हास्य हरेक प्रकारका चरित्रलाई विश्वसनीय बनाउने सामर्थ्य विरलै अभिनेतासँग हुन्छ । ऋषि त्यसको गज्जबको उदाहरण बने । उनको लोकप्रियता कुनै समूह, वर्ग र भूगोलभित्र सीमित भएन । उनको मृत्युपछि सामाजिक सञ्जालमा उनीप्रति व्यक्त गरिएको प्रेम र संवेदनाको सागर त्यसको प्रमाण हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ऋषि र उनकी पत्नी तथा अभिनेत्री नीतु कपुरसँगको तस्बिर सेयर गर्दै दुःख व्यक्त गरे । ‘बहुआयामिक, प्रिय र जीवन्त... यस्तो हुनुहुन्थ्यो ऋषि कपुरजी । उहाँ प्रतिभाको भण्डार हुनुहुन्थ्यो,’ मोदीले ट्वीट गरेका छन्, ‘सामाजिक सञ्जालमा भएका हाम्रा अन्तर्क्रिया याद गर्नेछु । उहाँ फिल्म र भारतको प्रगतिबारे उत्साहित हुनुहुन्थ्यो ।’
विख्यात गायिका लता मंगेशकरले ऋषिसँगको फोटो सेयर गर्दै ट्वीटरमा लेखेकी छन्, ‘केही समय पहिले ऋषिजीले मेरो र उनको फोटो पठाउनुभएको थियो । ती सबै दिन, कुरा याद आइरहेको छ । म शब्दविहीन भएकी छु । यो दुःख सहन मेरा लागि निकै मुस्किल परेको छ ।’ राहुल गान्धीले ऋषिलाई सानदार अभिनेता भनेका छन् । उनको ट्वीट छ, ‘यो साता भारतीय सिनेमाका लागि निकै डरलाग्दो छ । हामीले अर्को एक महान् हस्ती ऋषि कपुर गुमायौं । उहाँ सानदार अभिनेता हुनुहुन्थ्यो र हरेक पुस्ताका मान्छेले उहाँलाई मन पराउँछन् ।’     
अक्षय कुमारले ऋषिको निधनको खबरले आफ्नो मन भाँचिएको प्रतिक्रिया दिएका छन् । उनको ट्वीट छ, ‘यस्तो लाग्छ, हामी खराब सपनाको बीचमा छौं । उहाँ महान् कलाकार र मेरो परिवारको मिल्ने मित्र हुनुहुन्थ्यो ।’ बलिउड, भारतीय राजनीतिदेखि हरेक तह तप्काबाट समवेदना प्रकट गरिएका छन् ।
ऋषिका धुरन्धर फ्यान साहित्यकार ध्रुवचन्द्र गौतमले भने, ‘मैले ऋषिका प्रायः सबै फिल्म हेरेको छु । अहिलेसम्मको कपुर खान्दानको सुपरस्टार उनी नै हुन् । यो क्षति कहिल्यै पूरा हुन्न ।’ गौतमका अनुसार ऋषि बलिउडका ‘ट्रेन्ड सेटर्स’ हुन् ।
सन् 1975 मा ऋषि अभिनीत चार फिल्म प्रदर्शन भए । अर्को वर्ष पाँच फिल्म खेले । सिनेमाको संख्या मात्र होइन, ऋषिको अभिनयकारिता र फिल्मको गुणस्तर पनि बढ्दै गयो । उनको छविभन्दा भिन्न लाग्ने ‘लैलामजनु’  र ‘सरगम’  पनि हिट भए ।
‘कर्ज’  ‘खेल खेल में’ , ‘सागर’ , ‘अमर अकबर एन्थोनी’ , ‘प्रेमरोग’  ‘दामिनी’ दिवाना, लगायतका कैयौं फिल्म छन्, जसले ऋषिलाई आमभन्दा अलग र अग्लो अभिनेताका रूपमा चिनायो ।
फिल्म निर्देशक विनोद पौडेलका अनुसार ऋषिले हुलियाभन्दा चरित्रमा बाँच्न खोजे, चरित्रमा सहज रूपमा आफूलाई ढाल्ने प्रयास गरे । भने, ‘ऋषिका समकालीन र सिनियर हिरोहरू स्टाइलिस अभिनय गर्न खोज्थे तर ऋषिको अभिनय स्वाभाविक हुन्थ्यो । हरेक चरित्र विश्वसनीय बनाउँथे ।’
फिल्म र पात्र छनोटमा ऋषि कति उदार र संवेदनशील थिए भन्ने ‘चाँदनी’ (सन् 1989) बाट पुष्टि हुन्छ । यो फिल्म सुरुमा अनिल कपुरलाई अफर गरिएको थियो तर युवा उमेरमै अपांगको भूमिका गर्दा छवि धुमिलिने डरले अनिलले खेल्न मानेनन् ।
त्यसपछि निर्देशक यश चोपराले ऋषिलाई प्रस्ताव गरे, उनले सहर्ष स्विकारे । यो फिल्म सुपरहिट त भयो नै, ऋषि फिल्मफेयर अवार्डका लागि मनोनीत पनि भए । चकलेटी भए पनि चुनौतीपूर्ण भूमिका रोज्नुको पछाडि उनको पिता राज कपुरको प्रभाव थियो । ऋषि बुबालाई गुरु मान्थे । बुबालाई बुबा नभनेर ‘साहब’ भन्थे ।
कपुर खान्दानको सदस्य भएकाले फिल्ममा डेब्यु हुन ऋषिलाई पक्कै सहज भयो तर त्यसपछि उनले जति प्रतिष्ठा कमाए, त्यसमा उनको अभिनय क्षमताबाहेक अर्को तत्त्वको भूमिका छैन ।
मुहार चकलेटी भए पनि तीनताकाका चल्तीका अभिनेता देवानन्द, अमिताभ बच्चन, शशि कपुर, शत्रुघन सिन्हाभन्दा होचो थिए, ऋषि । मोटो पनि थिए, पेट प्रायः बाहिरै निस्किएको हुन्थ्यो । तर, यी ‘अवगुण’लाई उनको व्यक्तित्व र अभिनयकलाले छोपिदियो ।
पर्दामा प्रेमीका रूपमा उनै रुचाइए । ‘दिवाना’ (सन् 1992) मा उनले आफूभन्दा 22 वर्ष कान्छी हिरोइन दिब्या भारतीसँग रोमान्स गरेका थिए । उनीहरूको जोडी सुहाएन वा ऋषि पाको देखिए भनेर आलोचना भएन, बरु खुब रुचाइयो । गुजरातमा बाल्यकाल बिताएका निर्देशक पौडेलले भने, ‘ऋषि कपुरको फिल्म आउनासाथ परिवारसहित फिल्म हेर्न गइन्थ्यो । कुनै उमेर समूहमा मात्र उनको लोकप्रियता सीमित थिएन ।’
नेपाली फिल्मका दिग्गज कलाकार तथा निर्देशक नीर शाहले सन् 1978 तिर तास्कन्द फिल्म फेस्टिभलमा ऋषिलाई भेटेका थिए । ऋषि बुबा राज कपुरको जम्बो टोलीसहित फेस्टिभल पुगेका थिए । त्यसको दुई वर्षपछि रुसकै मस्को फिल्म फेस्टिभलमा ऋषिसँग फेरि भेट भएको भएको शाहले सुनाए ।
‘तास्कन्दमा भेट्दा खासै कुरा हुन पाएको थिएन तर मस्कोमा लामो कुराकानी गरियो,’ शाहले सम्झिए, ‘उहाँ (ऋषि) ले पनि केही समय दार्जिलिङमा पढ्नुभएको रहेछ, मैले पनि दार्जिलिङमा पढेको । त्यसैले पनि नजिक भइयो ।’ त्यतिबेला शाह ‘कुमारी’ फिल्म लिएर मस्को पुगेका थिए, अभिनेत्री चैत्यदेवी सिंह पनि सँगै थिइन् ।
धेरैलाई थाहा नहुन सक्छ, सन् 1988 तिर ऋषि नेपाल आएका थिए, फिल्म ‘खोज’ को सुटिङमा । नेपाल आउँदा ऋषिले शाहलाई खोजेछतर त्यतिबेला उनी अमेरिकामा थिए, भेट हुन पाएन । काठमाडौं आउँदा ऋषिले आफूलाईखोजेको थाहा पाएपछि शाहले उनलाई चिठी पठाएका थिए । उनले सम्झिए, ‘मलाई ऋषिको मुम्बईस्थित अफिसबाट पत्रको जवाफ पनि आएको थियो ।’
साहित्यकार गौतम ऋषि नेपाल आउँदा धेरैले नितु सिंहबारे सोधेको कुरा आफूले सुनेको बताए । त्यतिबेला नितु र ऋषिको बिहे भइसकेको थिएन, अफेयरको हल्ला चलेको थियो । उनीहरूले नाचेको ‘खुलमखुल्ला प्यार करेगे हम दोनो...’ गीत नेपालमा पनि औधी रुचाइएको थियो ।               
उमेर ढल्कँदै गएपछि कतिपय अभिनेता पाखा लाग्छन्, फेरि ऋषि त रोमान्टिक हिरो । तैपनि उनले कहिल्यै ‘ब्रेक’ लिनु परेन । बरु उमेरअनुरूपका चरित्र अंगालिरहे । सन् 2000 भन्दा अगाडि मुख्य भूमिकामा देखिन्थे । त्यसपछि सहायक र चरित्र अभिनेताका रूपमा ज्यादा देखिन थाले ।
‘हमतुम’ , ‘फना’ , ‘नमस्ते लन्डन’ , ‘लक बाई चान्स’ , ‘दिल्लीसिक्स’  केही उदाहरण हुन् । ‘कपुर एन्ड सन्स’ (सन् 2016) मा 90 वर्षको विन्दास वृद्धको भूमिकामा उनी अद्भुत लाग्छन् । ‘नट आउट 102’ (सन् 2018) मा उनी एक सय दुई वर्षका बुबा अमिताभ बच्चनको 76 वर्षको छोरो बनेका छन् । अमिताभ र ऋषिको गज्जबको केमेस्ट्री देख्न पाइन्छ फिल्ममा ।
रिलिजका हिसाबले उनको अन्तिम फिल्म ‘द बडी’ बन्यो ।               
जीवनको अन्तिमसम्म मात्र होइन, अन्त्यपछि पनि ऋषिले आफ्ना प्रियजनलाई रमाइलो गराइरहनेछन् । उनको भौतिक शरीर गए पनि उनले खेलेका कालजयी सिनेमाहरू हामीसँगै छन् । फिल्मप्रेमीको मनमा ऋषि अनन्तकालसम्म रहिरहेछन् ।

No comments:

Post a Comment